भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका यात्रुले खोलेपछि
भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ।
बुधबार निर्धारित उडान नम्बर ८५२ (जहाज ९एन–एएमडी) मा सवार यात्रु सुमन गौतमले आकस्मिक ढोका खोलेका हुन्।
उक्त घटना लगत्तै हवाई सुरक्षालाई ध्यानमा राख्दै उडान तत्काल स्थगित गरिएको थियो। बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार हवाई सुरक्षा मापदण्डअनुसार जहाजको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण अनिवार्य हुन्छ।
ढोका खोलिएपछि जहाजमा कुनै प्राविधिक क्षति पुगेको छ वा छैन भन्ने जाँच गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ।


