रास्वपाको समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति महिला क्लस्टरमा पहिलो नम्बरमा रहेकी टासी ल्हाजोम बाहिरिए
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन बन्दसूचीमा गरिएको पछिल्लो संशोधनले ठूलो चर्चा र विवाद जन्माएको छ। संशोधित बन्दसूचीबाट आदिवासी जनजाति महिला क्लस्टरमा पहिलो नम्बरमा रहेकी टासी ल्हाजोमको नाम हटाइएको खुलेको छ। निर्वाचन आयोग र रास्वपा स्रोतका अनुसार केही दिनअघि बन्दसूचीमा व्यापक हेरफेर गर्दा टासीको नाम काटिएको हो, तर यसको स्पष्ट औपचारिक कारण भने सार्वजनिक गरिएको छैन।
पार्टी स्रोतका अनुसार टासीसँग सम्बन्धित केही गम्भीर र विवादास्पद विषयका प्रमाण प्राप्त भएपछि उनको नाम बन्दसूचीबाट हटाउने निर्णय लिइएको हो। यद्यपि, कानुनी रूपमा उम्मेदवार स्वयंले नाम फिर्ता लिन निवेदन नदिएसम्म बन्दसूचीबाट हटाउन नमिल्ने व्यवस्था छ। यसअघि रास्वपाको बन्दसूचीमा रहेका केही उम्मेदवारले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिने घोषणा गरे पनि औपचारिक निवेदन नदिएको निर्वाचन आयोग स्रोतले जनाएको छ।
आयोग स्रोतका अनुसार रास्वपाले आफ्नै निर्णयमा बन्दसूचीमा फेरबदल गरेको देखिन्छ। फिर्ता हुन नचाहेका केही उम्मेदवारसमेत सूचीबाट हटाइएकाले संशोधित बन्दसूची हालसम्म सार्वजनिक नगरिएको पार्टी स्रोतको दाबी छ। टासीको हकमा भने उनले नाम फिर्ता लिन नचाहेको बताइएको छ। पार्टीले उनीसँग सम्बन्धित विवादित विषयबारे निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगका पदाधिकारी नाम हटाउन तयार भएको स्रोतको भनाइ छ।
यस निर्णयप्रति टासी ल्हाजोमले असन्तुष्टि जनाएकी छन्। केही दिनअघि उनले पार्टी कार्यालय पुगेर सभापति रवि लामिछानेलाई भेटेर आफ्नो आपत्ति राखेकी थिइन्। नाम नहटेको भए उनी समानुपातिक सांसद बन्ने सम्भावना अत्यन्त बलियो मानिन्थ्यो।
टासीका लागि यो पहिलो राजनीतिक झट्का भने होइन। यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने चर्चामा थिइन्। तर नागरिकता लगायतका विषय विवादास्पद बनेपछि अन्तिम समयमा उनको नाम काटिएको थियो। त्यसबेला राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले टासीलाई तिब्बती शरणार्थी भएको दाबी गर्दै नागरिकतामाथि प्रश्न उठाएका थिए। जेनजी कर्णालीले समेत उनलाई मन्त्री बनाइए बहिष्कार गर्ने चेतावनी दिएको थियो।
रास्वपामा औपचारिक प्रवेश गरेकी टासीले पार्टीको प्राइमरी निर्वाचनमा सहभागिता जनाउँदै उल्लेख्य मतसमेत प्राप्त गरेकी थिइन्। जेनजी पुस्ताकी नेतृका रूपमा चिनिएकी उनलाई पार्टीले प्राथमिकतासहित बन्दसूचीको पहिलो नम्बरमा राखेको थियो। तर पछिल्लो संशोधनसँगै उनको सांसद बन्ने सम्भावना अन्त्य भएको छ, जसले रास्वपाभित्र र बाहिर दुवैतर्फ प्रश्न र बहस चर्काएको छ।


