पाथीभरामा केवलकार निर्माण रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन
धनकुटा । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ।
कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिले संयुक्त रूपमा यो विरोध कार्यक्रम गरेका हुन्।
धनकुटाको मदन चोकमा आयोजित कोणसभामा सहभागीहरूले मुकुम्लुङ क्षेत्रलाई आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्रका रूपमा व्याख्या गरे। सो क्षेत्रमा केवलकार निर्माण गर्दा पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पर्ने उनीहरूको दाबी छ।
विकासका नाममा स्थानीय समुदायको भावना र ऐतिहासिक महत्वमाथि हस्तक्षेप गर्न नहुने उनीहरूले बताए।


