पोल्यान्डमा एक नेपाली युवकको मृत्यु
स्याङ्जा । स्याङ्जा चापाकोट–१, जिमाल्थरका ३६ वर्षीय यामबहादुर आलेको पोल्यान्डमा सुतेकै अवस्थामा मृत्यु भएको छ। याम जनवरी १० मा झापाका गोपालबहादुर लिम्बू शेर्मा र जनवरी १६ मा कास्कीका सुमन गुरुङको मृत्युपछि दुई हप्ताभित्र तेस्रो नेपाली बनेका हुन्।
याम रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया हुँदै पोल्यान्ड आएका थिए। २३ महिना रोमानियामा बसेर त्यसपछि पोल्यान्ड आएका उनले मासु प्रशोधन कम्पनी ड्रोसेडमा काम गरिरहेका थिए। उनी डिसेम्बर १ मा फिङ्गर प्रिन्ट दिएका र पोल्यान्डको रेसिडेन्स कार्डको प्रतीक्षामा थिए।
साथी र कोठामा सँगै बस्ने लावाङरेन्जी लामाले नेपालखबरसँग भने, “हामी राति ११ बजे खाना खाएर सुत्यौँ। तर एकैछिनमा उहाँ खाटबाट तल झरेको पाएँ। एम्बुलेन्स बोलाइयो, तर डाक्टरले मृत्यु भइसकेको बताए। प्रहरीले शव, राहदानी र कागजात लिए।”
उनको मृत्युको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन। याम र लामाले २०२५ मे २४ मा पोल्यान्डमा सँगै काम सुरु गरेका थिए।
नेपालस्थित जर्मनी एम्बेसीका कार्यवाहक राजदूत सागर प्रसाद फुयालले बताए, “दुःखद खबर प्राप्त भएको छ। रोजगारदाता कम्पनीसँग समन्वय गरी याम आलेको शव नेपाल फर्काउने प्रक्रिया तुरुन्त अघि बढाइनेछ।”


