साम्राज्ञी मोक्तान बनिन् १८ औँ मिस तामाङ
काठमाडौँ। काठमाडौँ बौद्धकी साम्राज्ञी मोक्तानले १८औँ मिस तामाङको ताज पहिरेकी छिन्। शनिवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको ताज पहिरिन सफल भएकी हुन्।
विजेता मोक्तानलाई १७ मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन्। मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पारेकी छिन्। मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारेकी मोक्तानले नेपाललाई सँस्कृतिक रुपमा संसारमा चिनाउन चाहनुहुन्छ भने के के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मोक्तानले निर्णायकको मन जितेकी थिइन्। उनले नेपाल विविधतायुक्त देश भए पनि एकताको धनी देश भएको बताएकी थिइन्।
निर्णायकमा निर्णायक वरिष्ठ संगीतकार प्रदिप बमजन, पूर्व मिस तामाङ सफलता थिङ, शेषराज भट्टराईलगायत थिए।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बनिन भने सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बनिन्। त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बनिन्। फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले बताइन्।
प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनलिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पुजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले हात पारेकी थिइन्।


