छुट्टीमा आएर बिहे गर्छु भनेका दिबस दुबईमा अस्ताए
युएई । संयुक्त अरब इमिरेट्समा इरानले गरेको ड्रोन आक्रमणमा परी भिमसेन थापा गाउँपालिका–७ बोर्लाङस्थित ठाटीका दिवस श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको निधनको खबर परिवारका सदस्यहरूले अबुधावीस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गरेपछि सोमबार बिहान मात्र थाहा पाएका थिए ।
‘बाबुको साथीभाइसँग बुझ्दा भागदौड हुँदा मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्नेसम्मको खबर आएको थियो,’ उनका बुबा चामबहादुर श्रेष्ठले भने, ‘मोबाइल छैन भनेपछि अस्तीदेखि भिडियो कलमा पनि कुराकानी हुन पाएको थिएन, के भएको हो, कसो भएको हो, अहिले हल्लाखल्ला गर्न थालेका छन्, छोरालाई फोन गर्दा पनि लाग्दैन ।’
दिवससँग पछिल्लोपटक बाबु चामबहादुरले शनिबार बेलुका भिडियो कलमा कुरा गरेका थिए । आइतबार भने छोराका साथीबाट मोबाइल हराएको र भागदौडमा छोराको खुट्टामा चोट रहेको सम्मको खबर उनको कानमा परेको थियो ।
उनले परिवार सङग छुट्टीमा आएर बिहे गर्छु भनेका थिए ।


