धनकुटामा पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले भोलि हुंदै
धनकुटा,४ बैशाख । पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले भोलि बैशाख ५ गते धनकुटामा हुने भएको छ ।
टिन्ज कृउ डान्स सेन्टरले हरेक बर्ष आयोजना गर्दै आएको यस गायन तथा नृत्य प्रतियोगिताको सिजन ७ को ग्राण्ड फिनाले धनकुटाको तल्लो टुंडिखेलमा दिनको ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
गायनतर्फ प्रथम स्थान हासिल गर्नेले नगद ५ लाखका साथै सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङको अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमशः १ लाख र ५० हजारसहित अन्य पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक सुंमन योगीले जानकारी दिए । त्यस्तै नृत्यतर्फ सिनियर र जुनियर दुई विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
नृत्य सिनियरतर्फ प्रथम पुरस्कार २ लाख ५० हजार त्यस्तै त्यस्तै जुनियरतर्फ पनि प्रथम पुरस्कार २ लाख ५० हजार रहने आयोजकले जनाएको छ। त्यस्तै द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेले २५ हजार पाउने आयोजकले जनाएको छ।विभिन्न स्थानबाट सहभागी भएका धनकुटा नगरपालिका, स्थानीय वडा कार्यालयहरू तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा आयोजना हुने कार्यक्रमको मुख्य प्रायोजक ‘एभेन्टोज’ रहेको छ।
कोशी प्रदेशका १४ वटै जिल्लाका ४ सय ३० जना प्रतिस्पर्धीमध्ये मेघा अडिसनबाट छनोट भई ३१ जना अन्तिम चरणमा पुगेका छन्। जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहनेछन्।गायन तथा नृत्य बिधामा अन्तिम प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको निर्णायकहरुमा नृत्य तर्फ युसिन येस्माली मगर,सुषान्त लिम्बु र दिपेश मगर रहने तथा गायन तर्फ जुनि खालिंग राई,दिनेश भारती र महेश राई रहने आयेजकले जनाएको छ ।


