पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

पोखरा, वैशाख ५ गते । कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।

शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले अवधारणापत्र प्रस्तुत गर्दै पोखरामा क्रियाशील साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारहरूसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिए ।

सातओटा बुँदामा प्रस्तुत गरिएको अवधारणापत्रमा एउटा सुन्दर साङ्गीतिक उत्पादनका लागि सबैको उत्तिकै भूमिका हुने भन्दै जुनसुकै रियालिटी सो, प्रतियोगिता वा साङ्गीतिक कार्यक्रममा गीतकारले रेकर्ड भएका गीत वाचन गर्दा सङ्गीतकार र गायक/गायिकाको नाम उच्चारण गर्ने, गायक/गायिकाले गीतकार र सङ्गीतकारको नाम उच्चारण गर्ने र सङ्गीतकारले गीतकार र गायक/गायिकाको नाम उच्चारण गर्ने परम्परा अवलम्बन गर्नपर्नेमा जोड दिइएको छ । नृत्य प्रस्तुत गर्दासमेत उद्‍घोषक वा आयोजकका तर्फबाट गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम उद्‍घोष गर्नुपर्ने माग सो अवधारणापत्रमा गरिएको छ ।

अवधारणापत्रमा गीतको समीक्षा गर्दा गीतकारको भावना बुझी गीतका शब्द र मर्मअनुरूप गर्न, समाजमा अपाच्य हुने खालका शब्दहरूको प्रयोग गरी गीत गीतकारले नलेख्न, रोयल्टी सम्बन्धित व्यक्तिको बैङ्क खातामा उपलब्ध गराउन, प्रतिलिपि अधिकारको ख्याल गर्न र प्रविधिको सदुपयोग गरी स्रष्टाको अस्तित्व रक्षा गर्न पनि आग्रह गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत अवधारणापत्रप्रति सहमति जनाउँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले विशेष गरी सञ्चार माध्यमहरूलाई स्रष्टाको नाम उच्चारण गर्ने कुरामा सचेत हुन आग्रह गरे । स्रष्टाले आफ्नो अस्तित्वको खोजी गरेको बताउँदै सरुभक्तले रोयल्टीलाई व्यवस्थित बनाउने कुरामा सरकारको ध्यानाकर्षण गराए ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले प्रतिलिपि अधिकारका विषयमा सबै एकजुट र सचेत हुनुपर्नेमा जोड दिइन् । आफ्ना गीतहरू अरूकै नाममा रेकर्ड हुने र गीत प्रस्तुत गर्दा नामसमेत उच्चारण नगर्दा दुःख लाग्ने गरेको अनुभव सुनाउँदै कोइरालाले आगामी दिनमा यस्तो अवस्थामा सुधार गर्न सबै पक्ष मिलेर लाग्नुपर्ने बताइन् ।

विम्बकवि तथा गीतकार रमेश श्रेष्ठले पहिचानको लडाइँमा स्रष्टाले जित्नुपर्ने बताए । स्रष्टाबिना सिर्जना नहुने भन्दै उनले कसैले पनि स्रष्टाप्रति दुर्भावना राख्न नहुने भनाइ राखे ।

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा सङ्गीत प्रशिक्षक नवराज बरालले गीतकार, सङ्गीतकार र गायक/गायिकाबिचको छलफल र भेटघाटले नै असल सङ्गीत उत्पादन हुने बताए । उनले आपसमा सल्लाह गरेर काम गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले अवधारणापत्रप्रति सहमति जनाउँदै एकले अर्काको अस्तित्व स्विकार्नुपर्ने बताए ।

गायक कर्णदासले देशविदेशमा साङ्गीतिक प्रस्तुति राख्दा गीतसँग सम्बद्ध सबैको नाम उच्चारण गर्नुपर्ने बताए ।
अर्का गायक रामभक्त जोजिजूले अवधारणापत्रमा प्रस्तुत विचारहरू हुबहु लागू गर्नुपर्ने बताए ।

गायक विनोद बानियाले विगतमा गीतकार मात्र पीडित हुने गरेकामा हाल गायक/गायिका र सङ्गीतकारसमेत पीडित हुने गरेको बताउँदै सबैले सहकार्य गरेमा सबैलाई न्याय हुने बताए । प्रविधिलाई बेवास्ता वा गाली गरेर होइन, सहकार्य गरेर अगि बढ्नुको विकल्प नरहेको बनियाको धारणा थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र केसी ‘देवु’, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङलगायतले पनि अवधारणापत्रमा आएका बुँदाहरू सान्दर्भिक भएको धारणा राखे ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो पनि विमोचन गरिएको थियो भने २४ जना नयाँ आजीवन सदस्यलाई सदस्यता वितरण गरिएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’ को स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।