डलरको भाउ फेरि उकालो, राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक
काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागिरहेको छ। केन्द्रीय बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ। अघिल्ला केही दिनको तुलनामा पनि डलरको भाउ क्रमशः बढ्दो अवस्थामा देखिएको छ। सोमबार खरिददर १५० रुपैयाँ ८८ पैसा रहेको डलर शुक्रबारसम्म आइपुग्दा उल्लेख्य वृद्धि भएको हो।
अन्य प्रमुख विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ। युरोको खरिददर १७९ रुपैयाँ तथा बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बेलायती पाउण्डको खरिददर २०६ रुपैयाँ ६० पैसा कायम भएको छ। त्यस्तै स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्यमा पनि सामान्य उतारचढाव देखिएको छ।
एसियाली मुद्रातर्फ जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल तथा युएई दिरामको विनिमयदरसमेत सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने जनाइएको छ।



