कुवेतमा रहेका एक नेपाली महिलाको मृत्यु
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ जातोडाँडाकी पोतेमाया वाइबाको वैदेशिक रोजगारीका क्रममा कुवेतमा निधन भएको छ।
परिवारको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेर करिब डेढ वर्षअघि कुवेत गएकी वाइबाको मृत्यु भएको खबर परिवारले करिब १८ दिनपछि मात्रै पाएको जनाएको छ। हालसम्म उनको मृत्युको वास्तविक कारण खुल्न नसकेको परिवारले बताएको छ।
परिवारका अनुसार पोतेमायाको शव अझै नेपाल ल्याउन सकिएको छैन। शव स्वदेश ल्याउन आवश्यक पहल गरिदिन परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
घटनापछि स्थानीयवासी तथा आफन्त शोकमा डुबेका छन्। वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारले भोग्नुपरेका समस्या र सुरक्षाको विषयमा पुनः प्रश्न उठेको स्थानीयले बताएका छन्।


