धनकुटामा गणतन्त्र दिवसमा ताल क्षेत्रमा बृक्ष रोपण र दिप प्रज्वलन
नारायण कुमार राई/धनकुटा, १६ जेठ । १९ औ.गणतन्त्र दिवसको अवसरमा चौबिसे गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्न तथा स्थानीयहरुमा जागरण ल्याउन वडा नं. २ मा रहेको धप्पड तालमा बिहिबार बृक्ष रोपण गरेको छ भने शुक्रबार राती पालिकाको सरकारी कार्यलयहरुमा दिप प्रज्वलन गरेको छ ।
शुक्रबार गरिएको बृक्ष रोपणको उत्घाटन गर्दै पालिकाका अध्यक्ष राजकुमार लिम्बूले संरक्षणको काम शुरु भएको यहाँका २ वटा ताल प्रति आकर्षण बढाउन तथा स्थानीयहरुको अपनत्व बढाउन यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
बिहिबार ताल क्षेत्रमा गरिएको बृक्षरोपणमा २ सय १७ जना जनप्रतिनीधि,कर्मचारी,स्थानीहरुको सहभागिता रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबु नन्दन मेहताले जानकारी दिनुभयो ।
उहाँले गुराँस,धुपी,तेजपात लगाएत ३ सय ५० भन्दा बढी बिभिन्न बनस्पती तथा फुलहरु रोपिएको जानकारी दिनुभयो ।
कुल ४ करोड ९६ लाख भन्दा बढी लागत स्टिमेट रहेको यस ताल क्षेत्रमा हाल संघीय सरकार पर्यटन मन्त्रालयको ३ करोड ५० लाखमा हाल ताल संरक्षणको बिभिन्न काम भईरहेको पालिकाका लेखा प्रमुख सोबिस तुम्बाले जानकारी दिनुभयो ।
चौबिसे गाउँपालिकाको चुरे क्षत्रमा करिव आधा दर्जन ठूला साना तालहरु रहेका छन् । जसमा रानी ताल,कांगडा ताल संरक्षित छन् भने बाँकी राजा ताल,रानी पोखरी ताल र गडेरे ताल संरक्षणको पर्खाईमा रहेका छन् ।
पालिकाले १५ गते शुक्रबार बेलुका पालिकामा रहेका सबै सरकारी कार्यालयमा दिप प्रज्वलन गरिएको पालिकाका उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरले जानकारी दिनुभयो ।




