बिराट मेडिकल कलेजले भित्र्यायो नेपालको पहिलो एआइ सक्षम जिइ सिग्नचर युएसजी मेसिन
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) मा आर्टिफिसियल इन्टेलिजेन्स (AI) सक्षम GE Signature अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएको छ । हस्पिटलको दाबी अनुसार यो नेपालमै पहिलो AI-सक्षम GE Signature USG मेसिन हो । यस उपलब्धिसँगै पूर्वाञ्चलका बिरामीहरूले अत्याधुनिक डायग्नोस्टिक सेवा आफ्नै सहरमा पाउने भएका छन् ।
परम्परागत अल्ट्रासाउन्डको तुलनामा यो मेसिनमा जडान गरिएको AI प्रविधिले शरीरका भित्री अंगहरूको तस्बिर अत्यन्तै सूक्ष्म र स्पष्ट रूपमा प्रदर्शन गर्छ । यसमा रहेका AI टुलहरूले अंगहरूको बनावट स्वतः पहिचान गरी स्वचालित रूपमा नाप लिन सक्षम छन्, जसले मानवीय त्रुटिको सम्भावनालाई न्यूनतम बनाई सटिक रिपोर्ट सुनिश्चित गर्ने हस्पिटलको भनाइ छ । यसका साथै AI प्रविधिका कारण जाँच प्रक्रिया झण्डै ४० प्रतिशतसम्म छिटो हुने भएकोले बिरामीले रिपोर्टका लागि लामो समय प्रतीक्षा गर्नु पर्दैन ।
विशेषगरी हाई-डेफिनेसन 3D/4D इमेजिङ सुविधाका कारण चिकित्सकहरूलाई रोग निदान र उपचारको सही निर्णय लिन सहज हुने हस्पिटलको भनाइ छ ।
हस्पिटलका प्रशासन प्रमुख प्रमेश राज देवकोटाले भने, “बिराट मेडिकल कलेज टिचिङ हस्पिटल सधैँ गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहँदै आएको छ । यो AI-सक्षम GE Signature USG मेसिन सञ्चालनमा ल्याउन पाउनु हाम्रा लागि गर्वको विषय हो । अब पूर्वाञ्चलका बिरामीहरूले सटिक निदान र स्तरीय उपचारका लागि काठमाडौं वा विदेश धाउनु पर्दैन, त्यो सुविधा अब आफ्नै सहरमा उपलब्ध छ ।”
बिराट मेडिकल कलेज टिचिङ हस्पिटल पूर्वाञ्चलको अग्रणी स्वास्थ्य संस्थाको रूपमा यस क्षेत्रका जनताको स्वास्थ्य सेवामा निरन्तर योगदान पुर्याउँदै आएको छ । GE Signature USG मेसिनको सञ्चालनसँगै हस्पिटलको डायग्नोस्टिक विभाग अझ सुदृढ र भरपर्दो बन्ने विश्वास व्यक्त गरिएको छ ।


