विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित, ११ हजार ६३० बालबालिका खोपको पहुँचमा

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ । बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले सञ्चालन गरेको अभियानले सबै वडामा खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको हो ।

महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०–११ महिनाका २ हजार १३९ जना, १२–१५ महिनाका ९७७ जना, १६–२३ महिनाका १ हजार ५४८ जना तथा २४–५९ महिनाका ६ हजार ९६६ जना रहेका छन् । यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको जनाएको छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत आयोजित विशेष कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा वडा नम्बर १ देखि १९ सम्मका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो । आवश्यक सबै सूचक पूरा गरी पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको महानगरले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर मेयर कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्रै अन्तिम लक्ष्य नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण चुनौती रहेको भन्दै सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे ।

महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार महानगरले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो । ‘पूर्ण खोप सुनिश्चितता केवल एक कार्यक्रम होइन, यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको अभियान हो,’ उनले भने, ‘महानगरले आगामी दिनमा पनि खोप छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन र अभिलेखीकरणलाई थप प्रभावकारी बनाउनेछ ।’

खोप संयोजक सुशील साहले विराटनगरमा खोप सेवाको गुणस्तर सुधार, तथ्यांक व्यवस्थापन र समुदायस्तरको सहभागिताले अभियान सफल भएको बताए । उनका अनुसार स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकबीचको समन्वयले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ । ‘खोपबाट बच्न सकिने रोगको जोखिम न्यूनीकरण गर्न नियमित खोप सेवामा निरन्तरता दिनु अत्यावश्यक छ,’ उनले भने ।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न वडा तहबाट नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा खोप छुटेका बालबालिकाको पहिचानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई दिगो बनाउन समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे ।

स्वास्थ्यकर्मीहरूका अनुसार पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले बाल स्वास्थ्य सूचक सुधार्नुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा पर्ने आर्थिक भारसमेत कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता मान्दै आगामी वर्षहरूमा समेत नियमित खोप सेवाको पहुँच विस्तार, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि र खोप अभियानको दिगोपनामा विशेष जोड दिने बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।