प्रहरी वरिष्ठ उपरीक्षक फुयालद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण, सरोकारवालासँग अन्तरक्रिया
धनकुटा,२९ जेठ। नेपाल प्रहरी प्रदेश कार्यालय, धरान सुनसरीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल ले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उहांले अपराध अनुसन्धान शाखा, महिला सेल, उजुरी छानबिन शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष लगायत कार्यालयअन्तर्गतका विभिन्न शाखाको अनुगमन गरेका थिए। साथै, समग्र अपराध अनुसन्धान कार्ययोजना (Crime Action Plan) को प्रगतिबारे जानकारी लिँदै अनुसन्धानलाई थप प्रभावकारी, निष्पक्ष र नतिजामुखी बनाउन आवश्यक निर्देशन दिएका छन्।
कार्यक्रममा एसएसपी फुयालले प्रहरी कर्मचारीहरूलाई व्यावसायिकता, अनुशासन, नागरिकमैत्री सेवा र अनुसन्धानको गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिन आग्रह गरेका थिए। उनले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय उद्योग वाणिज्य संघ, नागरिक समाज, महिला सञ्जाल, सञ्चारकर्मी, शैक्षिक संस्थाका प्रतिनिधि तथा विभिन्न गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागूऔषध दुव्र्यसन नियन्त्रण, आत्महत्या न्यूनीकरण, तनाव व्यवस्थापन तथा जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे खुला छलफल गरिएको थियो।
सहभागीहरूले समुदायमा बढ्दो लागूऔषधको समस्या, युवापुस्तामा देखिएको मानसिक तनाव तथा सामाजिक अपराध न्यूनीकरणका लागि प्रहरी, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वयात्मक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै एसएसपी फुयालले शान्ति–सुरक्षा कायम राख्ने कार्य केवल प्रहरीको मात्र जिम्मेवारी नभई समाजका सबै क्षेत्रको साझा दायित्व भएको उल्लेख गर्दै अपराध नियन्त्रण, सामाजिक सचेतना र सुरक्षित समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।



