धनकुटामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु
धनकुटा,३० जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ६ः३० बजे स्थानीय ४७ वर्षीय रामकृष्ण थापाले भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा दुर्घटनामा परेका हुन्। प्रहरीले जनाए अनुसार बन्दुकमा बारुद रहेको अवस्थामा नाललाई आगोमा तताई मुखले फुक्ने क्रममा अचानक बन्दुक पड्किँदा निस्किएको बारुद उनको मुखमा लागेको थियो।
गम्भीर घाइते भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा राति ९ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा गएको टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


