निश्चित ब्याच बाहेकका करेन्ट चाउचाउ खान योग्य रहेको यशोदा फुड्सको दाबी
काठमाडौं । यशोदा फुड्स प्रालिले निश्चित ब्याच बाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ।
कम्पनीले सूचना जारी गर्दै ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्राम चाउचाउको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए मा मात्रै गुणस्तर सम्बन्धी समस्या देखिएको उल्लेख गरेको छ। उक्त ब्याच बाहेक अन्य उत्पादनहरू सुरक्षित र उपभोगयोग्य रहेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्राम चाउचाउ बाहेक अन्य मितिमा उत्पादित वा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिनेछ।
कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत विक्रेतालाई उक्त निश्चित ब्याचबाहेकका उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न आग्रह गरेको छ।
यसअघि खाद्य तथा गुण नियन्त्रण निकायले निश्चित ब्याचका करेन्ट चाउचाउमा गुणस्तरसम्बन्धी समस्या देखिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो।


