धनकुटाबाट नेपाली नम्बर प्लेट राखेर भारतीय कार चलाउने चालक पक्राउ
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा भारतीय नम्बर प्लेट भएको कारमा नेपाली नम्बर प्लेट प्रयोग गरी चलाएको आरोपमा एक चालक पक्राउ परेका छन्।
गत असार २ गते बिहान करिब ९:२० बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कार रोकेको थियो।
जाँचका क्रममा भारतको बिहार राज्य, जोगवनी थाना अमोना पञ्चायत वडा नं. २१ मिरगञ्ज निवासी २२ वर्षीय नन्दु कुमार चौधरीले चलाएको सेतो रंगको XUV-300 कारको वास्तविक नम्बर प्लेट BRAG6702 रहेको तर त्यसमा नेपाली नम्बर प्लेट प्रदेश १-०१-००१ च ९२९४ राखेर चलाइएको फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले चालक चौधरीसहित उक्त कार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भेडेटारमा दाखिला गरेको थियो। पक्राउ परेका चालक र सवारी साधनलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० बमोजिम आवश्यक कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय धनकुटा पठाइएको प्रहरीले जनाएको छ।


