लहानको १ अर्ब ३८ करोडको बजेटमाथि बहस, विकासको अपेक्षा र कार्यान्वयनको चुनौती सँगसँगै
सिरहा , १० असार । लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ल्याएको १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँभन्दा बढीको बजेटले स्थानीय तहमा विकासको नयाँ आशा जगाए पनि यसको कार्यान्वयन क्षमतामाथि प्रश्न उठ्न थालेको छ।
नगरसभामा प्रस्तुत बजेटले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीले बजेट स्थानीय आवश्यकता र दीर्घकालीन विकास योजनालाई आधार बनाएर तयार गरिएको बताएका छन्।
यद्यपि बजेट सार्वजनिक भएसँगै विभिन्न क्षेत्रका सरोकारवालाले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्। विशेषगरी चालु खर्चमा ठूलो हिस्सा विनियोजन गरिएको विषयलाई लिएर अर्थ क्षेत्रका जानकारहरूले चासो व्यक्त गरेका छन्।
आर्थिक विश्लेषकहरूका अनुसार कुल बजेटको ५६.६९ प्रतिशत चालु खर्चतर्फ छुट्याइनुले विकास निर्माणका कार्यक्रम प्रभावित हुन सक्ने जोखिम देखिएको छ। उनीहरूले दिगो विकासका लागि पूँजीगत खर्च बढाउनुपर्ने सुझाव दिएका छन्।


