कटहरिया नगरसभाबाट बजेट पारित, ५ वडा अध्यक्षको बहिष्कार

सञ्जय मिश्रा/रौतहट, २३ असार। रौतहटको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँको बजेट पारित गरेको छ। तर बजेट पारित भएसँगै नगरसभा भने विवादमा तानिएको छ। बजेट वितरणमा विभेद गरिएको आरोप लगाउँदै ५ जना वडा अध्यक्षले नगरसभा बहिष्कार गर्दै विरोध प्रदर्शन गरेका छन्।

सोमबार सम्पन्न १२ औँ नगरसभा तथा १० औँ बजेट अधिवेशनमा नगर प्रमुख अजय प्रकाश जैसवालले चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरेका थिए। ‘जनमुखी स्थानीय सरकारको विकास, समृद्धिको आधार’ भन्ने नारासहित आयोजित नगरसभाले नीति, कार्यक्रम र बजेट पारित गरेको हो।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) रामविनय कुमार सिंहका अनुसार कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कानुनी समय सीमाभित्र नगरसभा गर्न नसकिएको र सोमबार मात्र सम्पन्न गरिएको उनले बताए।
तर नगरसभा चलिरहेकै बेला वडा नं १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं २ का अध्यक्ष हरेन्द्र साह, वडा नं ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं ६ का अध्यक्ष जयराम चौधरी र वडा नं ९ का अध्यक्ष रुपेश यादवले बैठक बहिष्कार गर्दै नगरपालिकाको मूल गेटमा धर्ना दिएका थिए। उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई नगरसभा बदर गर्न माग गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन्।

 

वडा अध्यक्ष चन्दन कुशवाहाले मेयर अजय प्रकाश जैसवालले पाँच वडामाथि योजनाबद्ध रूपमा विभेद गरेको आरोप लगाए। उनका अनुसार पाँच वडाको विकास बजेट कटौती गरी करार कर्मचारीको तलबका नाममा रकम विनियोजन गरिएको देखाइए पनि त्यसमा अनियमितता भएको छ।

बहिष्कारमा सहभागी वडा अध्यक्षहरूको दाबी अनुसार पाँच वडाका लागि विकास बजेट शून्य बनाइएको छ भने बाँकी चार वडामा करिब ९०/९० लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ। उनीहरूले यस्तो निर्णय पक्षपातपूर्ण रहेको आरोप लगाउँदै नगरसभा स्वीकार नगर्ने र कानुनी उपचारका लागि अदालत जाने चेतावनी दिएका छन्।

 

यता नगरपालिकाले भने नगरसभा विधिसम्मत रूपमा सम्पन्न भएको र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आवश्यक छलफलपछि पारित गरिएको जनाएको छ।

यसैबीच वडा नं ५ का अध्यक्ष सर्फलाल गुप्ता माथि पनि अन्य जनप्रतिनिधिबीच फाटो ल्याएर आफ्नो वडाको हितअनुकूल बजेट प्रभावित पारेको आरोप लागेको छ। बहिष्कारमा सहभागी वडा अध्यक्षहरूले गुप्ताले विगतमा पनि यस्तै भूमिका खेलेको दाबी गरेका छन्। यद्यपि गुप्ताले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै ती निराधार रहेको बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।