बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ।

हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ २०८३ असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा सम्पन्न भएको हो । ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ नारासहित हुने सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापी तथा क्यान्सर उपचारमा विकसित अत्याधुनिक प्रविधिबारे विस्तृत छलफल भएको थियो ।

सम्मेलनमा बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक सहभागी हुनेछन् । भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर (आरजीसीआईआरसी), नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी हुने कार्यक्रम छ । नेपालका तर्फबाट बीएमसीटीएचका डा. अमरदीप चौधरीसहित डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले कार्यपत्र प्रस्तुत तथा आफ्ना अनुभव र ज्ञान साझा गर्नु भएको थियो ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ। पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक सोही हस्पिटलमा सञ्चालनमा आइसकेको छ।

न्यूक्लियर मेडिसिन भनेको रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली जाँच्ने र उपचार गर्ने आधुनिक चिकित्सा विज्ञानको एक शाखा हो। यसमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, हृदयको रक्तप्रवाह जाँच, हड्डीको रोग पत्ता लगाउने र थाइरोइड समस्याको निदान समेत गर्न सकिन्छ।

हस्पिटलका अनुसार सम्मेलनले पूर्वी नेपालका स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष ज्ञान आदानप्रदान गर्ने अवसर उपलब्ध गराएको छ । यसबाट अत्याधुनिक प्रविधि र उपचार पद्धति स्थानीय स्तरमै विस्तार हुने, उपचार सेवाको गुणस्तर अभिवृद्धि हुने तथा क्यान्सरलगायत जटिल रोगका बिरामीलाई काठमाडौं वा विदेश जानुपर्ने बाध्यता क्रमशः घट्ने अपेक्षा गरिएको छ । दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय विशेषज्ञसँग सहकार्य, जटिल बिरामी व्यवस्थापन तथा रेफरल प्रणाली विकासमा समेत सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

उक्त सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत देशका विभिन्न जिल्लाबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका करिब ३०० जना भन्दा बढी सहभागी रहेको आयोजकले जनाएको छ । हाल बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले क्यान्सरको प्रारम्भिक निदान, रोगको फैलावट मूल्याङ्कन, हृदयको रक्तप्रवाह परीक्षण, हड्डी तथा संक्रमणजन्य रोगको पहिचान, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता परीक्षण तथा थाइरोइड सम्बन्धी रोगको निदान लगायतको सेवा प्रदान गर्दै आएको छ ।

उपचारतर्फ विभागले रेडियोएक्टिभ आयोडिनमार्फत थाइरोइड क्यान्सरको उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड थेरापी, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार तथा रेडियोसिनोभेक्टोमीजस्ता अत्याधुनिक सेवा सञ्चालन गरिरहेको जनाएको छ । यी सेवाले जटिल रोगको उपचारलाई थप प्रभावकारी, सुरक्षित र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग र न्यूरो साइन्स विभागको लागि छुट्टै भवनको समेत उद्घाटन भएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।