धनकुटामा ‘हली’को प्रचारप्रसार अभियान तीव्र, कलाकार सरोज खनालसहित निर्माण टोली दर्शकमाझ
हिराराज राई,धनकुटा । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को निर्माण टोली यतिबेला देशव्यापी प्रचारप्रसार अभियानमा सक्रिय रहेको छ। असार १५ गतेदेखि सुरु गरिएको प्रचारप्रसार अभियानअन्तर्गत बुधबार निर्माण टोली धनकुटास्थित धनकुटा सिनेमा हल पुगेको हो।
प्रचारप्रसार कार्यक्रमका क्रममा वरिष्ठ कलाकार सरोज खनालले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे जानकारी दिएका थिए।
कार्यक्रममा बोल्दै कलाकार सरोज खनालले किसानको जीवन, संघर्ष, बुवा–छोरीबीचको आत्मीय सम्बन्ध तथा छाउपडी प्रथाजस्ता सामाजिक विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘हली’ ले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। यिनै विषयवस्तुलाई लक्षित गर्दै निर्माण टोलीले शैक्षिक संस्थामार्फत विद्यार्थी तथा दर्शकमाझ पुग्ने अभियानलाई समेत तीव्र बनाएको उनले बताए।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्।
चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।
चलचित्रको विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा को आकर्षक प्रस्तुति रहेको छ। उक्त गीतको कोरियोग्राफी कविराज गहतराज ले गरेका छन् भने अन्य गीतमा निर्देशक ओम प्रतीक र कविराज गहतराज को संयुक्त कोरियोग्राफी रहेको छ।
व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ को लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्।
चलचित्रको छायाङ्कन राहुल राईले गरेका हुन् भने सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।
चलचित्रमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाज को सङ्गीत रहेको छ। गीतका शब्दमा निर्मात्री जस्मिन श्रेष्ठ को सिर्जना रहेको छ भने बाबुल गिरी र चर्चित गायिका शान्तिश्री परियार को स्वरले गीतलाई थप आकर्षक बनाएको निर्माण टोलीले जनाएको छ। चलचित्रको द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन्।
नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने चलचित्र ‘हली’ को डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ। निर्माण टोलीले आगामी दिनमा देशका विभिन्न शैक्षिक संस्था तथा दर्शकमाझ पुगेर प्रचारप्रसार अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।


