करदाता उपहार कार्यक्रम सफल बनाउन राष्ट्र बैंकको निर्देशन, बैंक र वालेटलाई ग्राहकलाई जानकारी दिन आग्रह
काठमाडौं, १५ साउन । काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंक तथा विद्युतीय भुक्तानी सेवा प्रदायकलाई आवश्यक तयारी र ग्राहक सचेतना बढाउन निर्देशन दिएको छ। आगामी साउन २१ गतेदेखि सुरु हुने कार्यक्रमलाई लक्षित गर्दै केन्द्रीय बैंकले सहभागी संस्थालाई विभिन्न सहजीकरणका उपाय अपनाउन आग्रह गरेको हो।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार भुक्तानी सेवा सञ्चालनको अनुमति प्राप्त सबै संस्था तथा बैंकहरूले कार्यक्रमसम्बन्धी जानकारी आफ्ना ग्राहकसम्म अनिवार्य रूपमा पु¥याउनुपर्नेछ। मोबाइल बैंकिङ वा वालेट एप अद्यावधिक गर्नुपर्ने अवस्था भए त्यसबारे पनि प्रयोगकर्तालाई समयमै जानकारी गराउन भनिएको छ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीका अनुसार भुक्तानी सेवा प्रदायकहरूले आफ्नो मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (ँब्त्त) समेटिएको छुट्टै खण्ड राख्नुपर्नेछ। साथै साउन १६ गतेदेखि नै कार्यक्रमबारे सूचना प्रवाह गर्न पनि आग्रह गरिएको छ।
सरकारले बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्दै कर अनुपालन बढाउने उद्देश्यले यो योजना सञ्चालन गर्न लागेको हो। भ्याट वा प्यानमा दर्ता भएका व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको खरिद गरी बिल लिने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। नगद तथा डिजिटल दुवै माध्यमबाट गरिएको भुक्तानी यस योजनामा समावेश हुनेछ।
कार्यक्रमअन्तर्गत हरेक दिन एक जना भाग्यशाली उपभोक्ताले १ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ बम्पर उपहार प्रदान गरिनेछ। विजेताको नाम आन्तरिक राजस्व विभागले सार्वजनिक गर्नेछ र उपहार रकम प्रचलित कानुनअनुसार कर कट्टीपछि सिधै बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।


