जाजरकोटमा पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते, तीन जना सम्पर्कविहीन
जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
गत साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्किनुका साथै केही घर जोखिममा परेपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली परिचालन गरिएको छ।
पहिरोका कारण भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार भने आफन्तको घरमा बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा हाल मानिस बसोबास नगर्ने जनाइएको छ।
घाइतेमध्ये भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा छाती, टाउको र हातमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि साउन ३० गते राति ८ः३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पतालमा सामान्य उपचारपछि राति ९ः१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।
भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
त्यस्तै, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। जिल्ला अस्पतालमा सामान्य उपचारपछि राति १०ः५५ बजे उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ। १० वर्षीय युनिश शाहीलाई सामान्य चोट लागेको छ भने ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ। उनीहरू सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
तीन जना सम्पर्कविहीन
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन तीनै जनाको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको र घटनाको थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

