मुख्य राजमार्गहरूमा अवरोध, केही सडकखण्डमा रातिको समयमा सवारी रोक
काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले साउन ३१ गते दिउँसो ३ः३० बजेसम्मको अवस्थाअनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
कोशी प्रदेश
भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ। उक्त सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको जनाइएको छ।
इलाम– इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग अवरुद्ध भएको छ।
संखुवासभा– भोटखोला गाउँपालिका–३ सिरेडाँड क्षेत्रमा अविरल वर्षाका कारण झापा–ताप्लेजुङ सडक तथा खाँदबारी–किमाथांका सडकखण्ड प्रभावित भएको छ।
बागमती प्रदेश
काभ्रे– खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरी सवारी सञ्चालन गर्न दिइने जनाइएको छ।
मकवानपुर– सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक रहने र अन्य समयमा परिस्थितिअनुसार सञ्चालन गरिने जनाइएको छ।
सिन्धुपाल्चोक– भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
रसुवा– उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केही सडकखण्डमा वैकल्पिक मार्ग उपलब्ध भए पनि केही स्थानमा लामो समयसम्म सडक खुल्न कठिन हुने अवस्था रहेको छ। वर्षाका कारण थप जोखिम हुन सक्ने भएकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

