ललितपुरमा घरबाट चाँदी, तामा र पित्तलका सामान चोरी गर्ने पक्राउ
ललितपुर । घरबाट चाँदी, तामा तथा पित्तलका गरगहना र विभिन्न सामग्री चोरी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
साउन ३० गते साँझ करिब ६ बजे महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित प्रकाश ताम्राकारको घरबाट विभिन्न धनमाल चोरी भएको थियो। चोरीपछि फरार व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले चोरीका सामानसहित काठमाडौं महानगरपालिका–२६, लैनचौर घर भई हाल ललितपुर महानगरपालिका–२८, हरिसिद्धी बस्ने ३१ वर्षीय अनिल खड्गीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार खड्गीको साथबाट तामाको फिल्टर, जग, दियो, कलश, पञ्चमाला, अष्टमण्डल, पित्तलको पन्यु, चाँदीको जस्तो देखिने टिकादानी तथा कल्ली, विभिन्न धातुका मूर्ति, घडी, सुनको जस्तो देखिने सिक्री तथा ब्रासलेट, पोतेमाला र कपडालगायतका सामग्री बरामद भएको छ।
पक्राउ परेका खड्गीविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। उनलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

