मकवानपुरमा स्कारपियो ६० मिटर तल खस्यो, ६ जना घाइते
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा स्कारपियोमा सवार दुई जना महिला र चार जना पुरुष घाइते भएका छन्। घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

