भन्सार छली ल्याएको ८१ . ८८० ग्राम सुन सहित एक जना पक्राउ
धनगढी । कैलालीमा भन्सार छली गरी ल्याइएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ३६ वर्षीय दिपक गौर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरले अवैध रूपमा सुनजस्तो देखिने पदार्थ कारोबारका लागि बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१ बाट उनलाई पक्राउ गरेको हो।
खानतलासी गर्दा गौरको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थको अनुमानित मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो। बिलमा छाप नभएको तथा बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि उक्त पदार्थ भन्सार छली गरी ल्याइएको आशंकामा बरामद गरिएको हो।
बरामद पदार्थसहित गौरलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको प्रहरीले जनाएको छ।

