ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते
दाङ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गत भदौ ३ गते साँझ करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो आपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए। घाइतेमध्ये घोराही उपमहानगरपालिका–५ बसन्तपुर निवासी ४५ वर्षीय अटो चालक विनोद पौडेलको उपचारका क्रममा भदौ ४ गते बिहान २:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था मध्यम रहेको छ।
प्रहरीले ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

