रौतहटमा सशस्त्र प्रहरीमाथि आक्रमण आरोपमा दुई दाजुभाइ पक्राउ

सञ्जय मिश्रा/

रौतहट, ४ भदौ। रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरेको छ। 

यसरी पक्राउ पर्नेमा शिवपुजन यादव र नवलकिशोर यादव रहेका छन्। तर, पक्राउको क्रममा सुरक्षाकर्मीले घरमा प्रवेश गरी परिवारका सदस्यलाई कुटपिट गरेको आरोपसमेत लागेको छ। परिवारको दाबीअनुसार घटनामा ७० वर्षीया बसकलिया देवी र उनकी १६ वर्षीया नातिनी करिश्मा यादव घाइते भएका छन्।

घटना भारतको घोडासहनबाट तस्करीको सामान बोकेर नेपालतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रणमा लिने क्रममा भएको विवादसँग जोडिएको प्रहरीले जनाएको छ। मोटरसाइकल नियन्त्रणमा लिने क्रममा तस्करीमा संलग्न समूह तथा केही स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुढा र आक्रमण गरेको बताइएको छ।

उक्त घटनामा सशस्त्र प्रहरी बल, बीओपी सरमुजवामा कार्यरत इन्स्पेक्टर लोकेन्द्र पुलामी मगरको हातको औँला भाँचिएको तथा अर्का एक सुरक्षाकर्मीसमेत घाइते भएको बताइएको छ।

इन्स्पेक्टर पुलामीले दिएको जाहेरीका आधारमा घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा शिवपुजन र नवलकिशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। तर, पक्राउ परेका दुवै दाजुभाइ घटनामा संलग्न नरहेको परिवारले दाबी गरेको छ। परिवारका अनुसार शिवपुजन सवारी चालक हुन् भने नवलकिशोर खेती–किसानी गर्दै आएका व्यक्ति हुन्। उनीहरू तस्करीमा संलग्न नरहेको परिवारको भनाइ छ।

परिवारका अनुसार मंगलबार राति करिब १२ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उनीहरूलाई पक्राउ गर्न घर पुगेको थियो। सुरक्षाकर्मीले मुख्य ढोका फुटाएर घरभित्र प्रवेश गरी दुवैलाई नियन्त्रणमा लिएको र त्यसक्रममा परिवारका सदस्यलाई समेत कुटपिट गरेको आरोप परिवारले लगाएको छ।

शिवपुजनकी आमा बसकलिया देवी, श्रीमती सुगान्धी देवी र १६ वर्षीया छोरी करिश्मामाथि समेत सुरक्षाकर्मीले कुटपिट गरेको परिवारको आरोप छ। बसकलिया र करिश्माको टाउकोमा चिरपट प्रहार गरिएको र दुवै घाइते भएको परिवारले जनाएको छ। 

घाइते बसकलिया र करिश्माको गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकका अनुसार बसकलियाको टाउकोमा सातवटा र करिश्माको टाउकोमा छवटा टाँका लगाइएको छ।

घाइते बसकलियाले घटनाप्रति आक्रोश व्यक्त गर्दै आफूहरूले कुनै अपराध नगरेको अवस्थामा मध्यराति घरको ढोका फुटाएर प्रवेश गरी कुटपिट गरिएको बताएकी छन्।

प्रहरी भन्छ– ‘विशेष परिस्थितिमा पक्राउ गरिएको हो’

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले भने सशस्त्र प्रहरीका इन्स्पेक्टर लोकेन्द्र पुलामीमाथि तस्करीको सामान नियन्त्रण गर्ने क्रममा भएको आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएका छन्।

मध्यरातमा घरभित्र प्रवेश गरी पक्राउ गर्दा कानुनी प्रक्रिया तथा स्थानीय जनप्रतिनिधिको रोहवर आवश्यक पर्ने वा नपर्ने विषयमा प्रश्न उठेपछि डीएसपी गौतमले ‘विशेष परिस्थिति भएकाले मानिसलाई पक्राउ गरिएको’ प्रतिक्रिया दिएका छन्।

घरभित्र रहेका महिला तथा नाबालिकामाथि चिरपट प्रहार गरी घाइते बनाइएको आरोपबारे भने आफूलाई जानकारी नभएको डीएसपी गौतमले बताएका छन्।

यता, पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा आफूहरूलाई न्याय दिलाउन माग गरेको छ। घटनामा सुरक्षाकर्मीमाथि भएको आक्रमण र त्यसपछि पक्राउका क्रममा परिवारमाथि भएको भनिएको कुटपिटबारे छुट्टाछुट्टै छानबिन आवश्यक देखिएको स्थानीयको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।