ट्रकको ठक्करबाट महिला साइकलयात्रीको मृत्यु
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ।
कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेकी कपिलवस्तु नगरपालिका–२, बर्गदवा निवासी अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको हो।
मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाएको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी निशालाई प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पुर्याएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा निशाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
ट्रक र चालक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

