सँगै ज्याला मजदुरी काम गर्ने साथी माथि चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मिति २०८३/०४/२६ गते राति करिब ९ः४० बजे काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बस्दै आएका ढोरपाटन नगरपालिका–७ स्थायी ठेगाना भई हाल ढोरपाटन नगरपालिका–५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या भएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा खत्रीका साथमा लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ घर भएका २५ वर्षीय अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त भएपछि स्थानीयवासीसँग समन्वय गरी प्रहरीले घटनापछि भाग्न नपाउँदै अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिखे दमाईलाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेराबाट सोही राति पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा २०८३/०४/२० गते अशोक खत्री, अर्जुन घर्ती मगर र रिखे दमाई देबेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने कामका लागि घरबाट हिँडेका थिए। बाटोमा अशोक खत्रीको आफ्नै घरमा काम परेपछि उनी बीचबाटोबाटै फर्किएका थिए भने अर्जुन र रिखे काम गर्ने स्थानमा पुगेका थिए।
२०८३/०४/२४ गते अशोक पनि काम गर्नका लागि उनीहरू बसेको स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए। त्यसक्रममा २०८३/०४/२५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य विवाद भएको थियो।
भोलिपल्ट २०८३/०४/२६ गते दिनभरको काम सकेपछि तीनै जना सँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विषयलाई लिएर पुनः विवाद भएको प्रहरीले जनाएको छ। सोही क्रममा अर्जुन घर्ती मगरले धारिलो चक्कुले अशोक खत्रीमाथि प्रहार गर्दा उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको हो।
मृतक खत्रीका १२, ९ र ७ वर्षका तीन छोरा छन्। उनकी श्रीमतीसमेत गर्भवती रहेको र परिवारको सम्पूर्ण आर्थिक जिम्मेवारी मृतकमा निर्भर रहेको जनाइएको छ। मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन्।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु तथा रगत लागेको कपडालगायतका दशी प्रमाण बरामद गरेको छ। पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

