मोरङको कानेपोखरीबाट ३.०२ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ
विराटनगर । मोरङको कानेपोखरीबाट ३.०२ ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–७ बस्ने ३१ वर्षीय विवेक राई रहेका छन्।
प्रहरीका अनुसार भदौ ५ गते राति करिब १० बजे राई आफ्नो मोटरसाइकल मोरङको भाउन्नेमा हराएको भन्दै कानेपोखरीस्थित अस्थायी प्रहरी पोष्टमा जानकारी गराउन पुगेका थिए। सो क्रममा उनीमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा राईले लगाएको जिन्स पाइन्टको अगाडिको गोजीबाट प्लास्टिकबाहेक ३.०२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यसपछि राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरी, मोरङमा लगिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

