लागूऔषध सहित झापा, सुनसरीबाट ९ जना पक्राउ
विराटनगर । झापा र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर तथा गाँजासहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। उदयपुरमा भने प्रहरीले बेवारिसे अवस्थामा ७ किलो गाँजा बरामद गरेको छ।
भदौ ६ गते झापाको झापा गाउँपालिका–४, टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–६, शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यस्तै, इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले कनकाई नगरपालिका–५ का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर तथा ३३ ग्राम ५४० मिलिग्राम गाँजासहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका–३ का २१ वर्षीय प्रदीप टुडु, २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका–५ का ३३ वर्षीय प्रेमबहादुर विक र ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैबीच, उदयपुरको कटारी नगरपालिका–७, रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराबाट ७ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ९ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

