यूएईमा पहिलो पटक नेपाली समुदाय स्तरीय बक्स क्रिकेट च्याम्पियनसिप हुँदै
सचिन्द्र श्रेष्ठ,दुबई । यूएईमा पहिलोपटक नेपाली समुदाय स्तरीय बक्स क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यूएई नेपाली क्रिकेट एसोसिएसन (UNCA) को आयोजनामा ‘UNCA Box Cricket Championship 2026’ आगामी २९ र ३० अगस्ट दुबईमा हुने भएको हो।
प्रतियोगितामा नेपाली समुदायका आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा UNCA गोर्खाज, अर्घाखाँची एभेन्जर्स, NPAF रोयल्स, NPAF लायन्स, DNIG क्रिकेट टिम, NIMS दाइ लेजेन्ड्स, एभरेस्ट वुल्भ्स क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लब सहभागी हुनेछन्।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा पराजित टोली तत्कालै प्रतियोगिताबाट बाहिरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल हुँदै ग्रान्ड फाइनलमा पुग्नेछन्।
प्रतियोगिताको विजेताले २ हजार यूएई दिराम तथा उपविजेताले १ हजार यूएई दिराम नगद पुरस्कार पाउनेछन्। यसका साथै उत्कृष्ट ब्याट्सम्यान, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट फिल्डरलगायत विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा आकर्षक सरप्राइज पुरस्कारको समेत व्यवस्था गरिएको छ।
‘UNITY, PRIDE, CRICKET’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले यूएईमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ।
प्रतियोगितालाई लाइफ लाइन ह्यूमन रिसोर्सले मुख्य प्रायोजन गरेको छ भने लेबास फेसनले जर्सी प्रायोजन गरेको छ। त्यस्तै, प्रतियोगिता भर खेलाडीहरूको प्राथमिक स्वास्थ्य उपचारका लागि निको पोलीक्लिनिकले स्वास्थ्य सहयोग गर्ने आयोजकले जनाएको छ।
UNCA ले यूएईमा रहेका नेपाली क्रिकेटप्रेमी, खेलाडी तथा समर्थकहरूलाई प्रतियोगितामा सहभागी भई खेलाडीहरूको हौसला बढाउन र प्रतियोगितालाई सफल बनाउन अपिल गरेको छ।


