पाख्रीबासमा नेपाली कम्युनिष्ट पार्टीको ९९ सदस्यीय नगर समिति गठन,नगर संयोजकमा राई
धनकुटा । नेपाली कम्युनिष्ट पार्टी पाख्रीबास नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमले ९९ सदस्यीय नगर समिति गठन गरेको छ ।
गत भदौ २१ गते आइतबार सम्पन्न बैठकले मानबहादुर राईको संयोजकत्वमा नगर समिति गठन गरेको हो । समितिको सहसंयोजकमा वेदबहादुर बस्नेत, रमेश खाती, योगेन्द्र निरौला, युवराज कार्की र मीनकुमारी गहतराज चयन भएका छन् ।
पार्टीका धनकुटा जिल्ला इन्चार्ज धर्मराज पौडेल, केन्द्रीय सदस्यहरू बंगला राई र लक्ष्मी राई, जिल्ला सहसंयोजक ओमप्रकाश निरौला तथा प्रदेश कमिटी सदस्यद्वय ईश्वरीप्रसाद ओझा र खगेन्द्र विष्टको उपस्थितिमा बैठक सम्पन्न भएको पार्टीले जनाएको छ ।
बैठकले संगठनसम्बन्धी विभिन्न निर्णय गर्नुका साथै हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक प्रस्ताव पारित गरेको छ साथै बाढीपीडितलाई यथासक्य आर्थिक सहयोग गर्न पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय गरेको जनाएको छ ।
बैठकले नेपालको प्रमुख समस्या मध्ये स्वास्थ्य समस्या पनि रहेको भन्दै सरकारलाई स्वास्थ्य सेवा निःशुल्क बनाउन आग्रह गरेको छ साथै पाख्रीबास नगरपालिका भित्र उपचार गर्न कठिनाइ भएका नागरिकले पार्टी संयन्त्रमा जानकारी गराए आवश्यक सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।


