सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम, उच्च सतर्कता अपनाउन आग्रह
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।
भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुङ्गा खोलामा पहिरो खसेको हो । गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ तथा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
प्रहरी टोलीले नदी तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा हुङ्गा खोलामा सञ्चालित गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल र सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराएको छ । साथै, हाइड्रोपावरमा कार्यरत कामदार तथा त्यहाँ रहेका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरिएको प्रहरीले जनाएको छ ।
हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ । त्यसपछि उक्त नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।
यसैबीच, बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्याममा पानी भरिएपछि पानी निकास हुन सुरु भएको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्था तथा थप विवरणबारे बुझ्ने कार्य भइरहेको छ ।

