धनकुटाको पाख्रीबास स्थित भारती माविलाई डा सुनिल शर्माद्वारा ५ करोड सहयोग, विद्यालयको नाम परिवर्तन
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङ्माङस्थित श्री भारती माध्यमिक विद्यालयको नाम परिवर्तन तथा विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आर्थिक सहयोग हस्तान्तरण र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व सांसद तथा डा. सुनिलकुमार शर्माले आफ्ना हजुरबुबा गुनलाल न्यौपाने र जिजुबुबा गणपति न्यौपानेको स्मृतिमा विद्यालयलाई कुल ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो। सोही अवसरमा विद्यालयको नाम परिवर्तन गरी ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिएको छ।
सम्झौताअनुसार ३ करोड रुपैयाँ विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक विकास तथा आवश्यक संरचना निर्माणलगायतका क्षेत्रमा खर्च गरिनेछ सो अवसरमा ३ करोड रुपैयाको चेक हस्तान्तरण गरिएको थियो भने २ करोड रुपैयाँ आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न छात्रवृत्ति अक्षयकोषका रूपमा स्थापना गरिनेछ।
अक्षयकोषमार्फत विद्यालयमा कक्षा ६ देखि निरन्तर अध्ययन गरी कम्तीमा पाँच वर्ष पूरा गरेका, एसईई उत्तीर्ण तथा आर्थिक रूपमा विपन्न र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिनेछ। सम्झौताअनुसार चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गरी मेरिटका आधारमा काठमाडौं मेडिकल कलेजमा अध्ययनका लागि छनोट हुने विद्यार्थीले विद्यालयको सिफारिसमा छात्रवृत्ति प्राप्त गर्नेछन्।
छात्रवृत्तिअन्तर्गत केएमसीमा अध्यापन हुने डीफार्म, एमएससी, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीटीलगायतका शैक्षिक कार्यक्रममा अध्ययनका लागि निःशुल्क अवसर उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ।
यस्तै, डा। शर्माले चुङ्माङका दीर्घरोगी, गम्भीर प्रकृतिका बिरामी तथा आर्थिक रूपमा कमजोर विपन्न नागरिकलाई नोबेल मेडिकल हस्पिटलमा उपचारका क्रममा २५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
कार्यक्रममा डा। सुनिलकुमार शर्मा तथा उहाँका बुबा लोकनाथ न्यौपाने र आमा उमादेवी न्यौपानेलाई विद्यालयका तर्फबाट दोसल्ला ओढाएर तथा अभिनन्दनपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमले महत्वपूर्ण अवसर सिर्जना गर्ने बताउनुभयो।
यस्तै, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष आनन्द सन्तोषी राई र ददिराम तिम्सीनाले विद्यालयको विकासका लागि प्राप्त सहयोगले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने बताउनुभयो। उहाँले सहयोगको उचित सदुपयोग गर्दै विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर खत्रीले आफ्ना पुर्खाको स्मृतिमा शिक्षा क्षेत्रमा ठूलो योगदान गर्नुभएकोमा डा। शर्माप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त सहयोगबाट विद्यालयको भौतिक संरचना विकाससँगै विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसरसमेत सिर्जना भएको बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुनिल थापा, वडा अध्यक्ष सम्झना आले, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई लगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै विद्यालयको अवस्था, शैक्षिक आवश्यकता तथा प्राप्त सहयोगबाट विद्यालय र विद्यार्थीलाई हुने लाभका विषयमा जानकारी गराउनुभएको थियो। कार्यक्रमको संचालन शिक्षक कुमार सुवेदीले गर्नु भएको थियो । विसं २००८ सालमा स्थापना भएको यस विद्यालयका संस्थापकहरू नरबहादुर कुथुमी, हरिप्रसाद पोख्रेल र छत्रबहादुर कुथुमी रहनुभएको जनाइएको छ।

