धनकुटाको मूलघाटबाट खैरो हेरोइन सहित भोजपुरका दुई युवक पक्राउ
धनकुटा । धनकुटा नगरपालिका–९ मूलघाटबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
बुधबार साँझ करिब ५ः४५ बजे प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको ईभी गाडीमा सवार दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ २५ पोका, खुला अवस्थामा रहेको हरियो रङका ५० क्याप्सुल र सुन्तला रङका ४५ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीका अनुसार हेरोइनजस्तो देखिने धुलो पदार्थ प्लास्टिकबाहेक १ ग्राम २३० मिलिग्राम रहेको छ।
पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका–६ देउरालीका २४ वर्षीय प्रविन राई रहेका छन्।
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

