भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको आग्रह
धनकुटा, असोज ७ गते । जिल्ला प्रशासन कार्यालय धनकुटाले कोशी प्रदेशमा आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ७ गतेदेखि कोशी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने तथा असोज ९ देखि ११ गतेसम्म कोशी प्रदेशसहित देशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रानसहितको बहाव आउने तथा होचा भूभाग र नदी तटीय क्षेत्रमा डुबान हुन सक्ने प्रशासनले जनाएको छ। यसबाट कृषि, स्वास्थ्य, पर्यटन, दैनिक जनजीवन प्रभावित हुनुका साथै सडक मार्गसमेत अवरुद्ध हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
प्रशासनले भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र, भिरालो जमिन तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन तथा स्थानीय तहसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ। साथै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राख्न सम्बन्धित आयोजना तथा निकायलाई भनिएको छ।
प्रशासनले मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी सूचना र चेतावनी नियमित रूपमा लिन समेत आग्रह गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, सशस्त्र प्रहरी बलको हटलाइन १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC) १२३४, नेपाल प्रहरी १००, जिल्ला प्रहरी कार्यालय धनकुटा ९८५२०८०८५५ र जिल्ला प्रशासन कार्यालय धनकुटा ९८५२०७०१७७ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

