धनकुटामा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज ७ गतेदेखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लाका जोखिमयुक्त सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो।
प्रशासनका अनुसार भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथरको सीमासम्मको तमोर कोरिडोर, भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने तथा फर्किने सवारी साधन र जोखिमयुक्त भित्री सडकमा रातिको समयमा आवागमन रोक लगाइएको छ।
प्रशासनले अत्यन्त जरुरी कामबाहेक घरबाट टाढा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको जनाएको छ।
त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित आयोजनालाई निर्देशन दिइएको छ। जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना तथा चेतावनीका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत आग्रह गरिएको छ।
अकस्मात बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
आपत्कालीन सम्पर्क नम्बरहरू :
* मौसम तथा बाढीसम्बन्धी जानकारी : ११५५
* विपद्मा सहयोग : १२३४
* नेपाल प्रहरी : १००
* सशस्त्र प्रहरी बल : १११४
* जिल्ला प्रहरी कार्यालय धनकुटा : ९८५२०८०८५५
* जिल्ला प्रशासन कार्यालय धनकुटा : ९८५२०७०१७७

