भारी वर्षाको जोखिमपछि सहिदभूमिका विद्यालय असोज ९ र १० गते बन्द
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सम्भावित भारी वर्षा, बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बिहीबार सूचना जारी गर्दै असोज ९ र १० गते गाउँपालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न अनुरोध गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको पत्र तथा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाइएको छ।
यसका कारण सहिदभूमि गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोध लगायतका जोखिम हुनसक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
विद्यालयमा दिइने दुई दिनको बिदा हिउँदे बिदाबाट मिलान/कट्टी हुने सूचनामा उल्लेख छ।
यस्तै, असोज ११ गते आइतबार नियमित पठनपाठन गर्ने वा नगर्ने सम्बन्धमा तत्कालीन मौसम पूर्वानुमानको आधारमा थप निर्णय गरिने गाउँपालिकाले जनाएको छ।

