धनकुटा सिनेमा प्रालिले चलचित्र ‘हली’ प्रदर्शनको ५१ औँ दिन मनाउँदै
हिराराज राई, धनकुटा । नेपाली कथानक चलचित्र ‘हली’ को प्रदर्शनको ५१औँ दिनको अवसरमा धनकुटामा विशेष समारोह आयोजना गरिने भएको छ।
गत साउन २२ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आगामी असोज १० गते शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गर्दैछ। सोही अवसरमा धनकुटा सिनेमा प्रालिमा विशेष कार्यक्रम आयोजना गरिने चलचित्रकी निर्माता जस्मिन श्रेष्ठले जानकारी दिइन्।
आयोजकका अनुसार कार्यक्रममा चलचित्रसँग सम्बन्धित कलाकार तथा चलचित्रकर्मीहरूको विशेष उपस्थिति रहनेछ। समारोहमा कलाकार सरोज खनाल, अर्जुन गुरुङ, निर्देशक ओम प्रतीक, नायिका सुजाता थापा, गायक प्रमोद दीप, बाबुल गिरी लगायत सहभागी हुनेछन्।
कार्यक्रमको संयोजन सनी लिम्बूले गर्नेछिन्। साथै, धनकुटामा चलचित्र ‘हली’को प्रदर्शनसँग सम्बन्धित थप जानकारी पनि सोही कार्यक्रममा सार्वजनिक गरिने आयोजकले जनाएको छ।

