धनकुटा सिनेमा हलमा चलचित्र ‘हली’को ५१औँ दिन विशेष समारोह सम्पन्न
हिराराज राई, धनकुटा। सामाजिक कुप्रथा र विभेदविरुद्ध सशक्त सन्देश बोकेको नेपाली कथानक चलचित्र ‘हली’ले धनकुटा सिनेमा हलमा सफल प्रदर्शनको ५१औँ दिन विशेष समारोहका साथ मनाएको छ। गत साउन २२ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले धनकुटामा ५१औँ दिन मनाउने पहिलो नेपाली चलचित्र बनेको निर्माण टोलीले जनाएको छ।
५१औँ दिनको अवसरमा आयोजित विशेष समारोहमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा चलचित्रका मुख्य कलाकार प्रमोद दीप, खलनायकको भूमिकामा रहेका अर्जुन गुरुङ, गायक तथा संगीतकार बाबुल गिरी लगायत कलाकार तथा निर्माण टोलीको उपस्थिति रहेको थियो।
लेखक तथा निर्देशक ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हली’ वास्तविक घटनाबाट प्रेरित छ। चलचित्रले विशेषगरी छाउपडी प्रथा, हली प्रथा तथा महिलामाथि हुने सामाजिक विभेद र अन्धविश्वासविरुद्ध आवाज उठाउँदै समाज परिवर्तनका लागि चेतनाको आवश्यकता औँल्याएको छ।
चलचित्रमा पहिलो पटक महिनावारी हुँदा किशोरीले भोग्नुपर्ने विभेद, पीडा, मानसिक तनाव तथा उचित यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभावले शिक्षामा पर्ने असरलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। कथाअनुसार पहिलो महिनावारीपछि एक किशोरीलाई २१ दिनसम्म छाउघरमा एक्लै बस्न बाध्य पारिन्छ। त्यस अवधिमा छोरीले बुवाको अनुहार हेरे अनिष्ट हुन्छ भन्ने अन्धविश्वासले गाँजिएको ग्रामीण समाजको यथार्थ चित्रण चलचित्रमा गरिएको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ हुन्। अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह–निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्युसर तथा जीवननाथ गौतम मुख्य सहायक निर्देशक रहेका छन्।
चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी लगायत कलाकारको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयंले पनि चलचित्रमा अभिनय गरेका छन्।
चलचित्रको छायांकन राहुल राई, सम्पादन रामप्रसाद चौधरी र विपिन मल्ल, तथा द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन्। गीत–संगीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ भने मुख्य गीतमा जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको छ। चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गरेको हो।
विशेष समारोहमा गायक बाबुल गिरीले सांगीतिक प्रस्तुति दिएका थिए भने हाम्रो बहुमुखी पाठशालाका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। साथै चलचित्र ‘हली’ हेरेर उत्कृष्ट निबन्ध लेख्ने विभिन्न विद्यालयका विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
चलचित्रका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, प्राज्ञ रोशन परियार, विभिन्न विद्यालयका प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा चलचित्रप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कवि मुकुन्द प्रयासले गरेका थिए भने स्वागत मन्तव्य केजी सुब्बाले व्यक्त गरेका थिए।
निर्माण टोलीले धनकुटाका दर्शक, सिनेमा हल व्यवस्थापन तथा चलचित्रप्रेमीहरूको निरन्तर साथ र माया नै चलचित्रलाई ५१औँ दिनसम्म सफल प्रदर्शन गर्न सम्भव भएको भन्दै सबैप्रति आभार व्यक्त गरेको छ।

