सुनसरीमा ४ लाख ३६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ जिरोग्वा नहरबाट प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ५ः३० बजे भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य ४ लाख ३६ हजार रुपैयाँ रहेको छ।
बरामद लत्ताकपडा तथा कस्मेटिक सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।


