धनकुटाको भेडेटारमा असोज २४ गतेदेखि चौंथो ब्याडमिन्टन प्रतियोगिता हुने
हिराराज राई, धनकुटा। कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा आगामी असोज २४ गतेदेखि २७ गते सम्म चौंथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारस्थित ब्याडमिन्टन हलमा सञ्चालन हुने प्रतियोगितामा महिला डबल्स प्रोभिन्स–१ ओपन, प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्स तथा भेट्रान राष्ट्रिय डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष दिपेन सुहाङ लिम्बुले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्सतर्फ विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने जोडीले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
महिला डबल्सतर्फ प्रथम हुने जोडीलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, भेट्रान राष्ट्रिय डबल्सतर्फ विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ तथा तेस्रो हुने जोडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका खेलाडीसँगै भारतको सिलिगुडी र सिक्किमबाट समेत खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढ्दै गएकाले गाउँपालिकाले विभिन्न वडा तथा स्थानमा कभर्डहल निर्माण गरिरहेको बताउनुभयो। अध्यक्ष राईका अनुसार यस्ता प्रतियोगिताले भेडेटारको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

