धनकुटामा वरिष्ठ अधिवक्ता उपाधिको मापदण्डबारे सरोकारवालाबाट सुझाव संकलन
धनकुटा, असोज १६ । वरिष्ठ अधिवक्ता उपाधि प्रदानसम्बन्धी हालको मापदण्ड तथा वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्ने विषयमा सरोकारवालाबाट सुझाव संकलन गरिएको छ।
शुक्रबार उच्च अदालत विराटनगर, धनकुटा इजलासको सभाहलमा सर्वोच्च अदालतको वरिष्ठ अधिवक्ता सिफारिस समितिले सुझाव संकलन कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको अध्यक्षता सर्वोच्च अदालतका माननीय न्यायाधीश एवं वरिष्ठ अधिवक्ता सिफारिस समितिका सदस्य मेघराज पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य भई काम गर्ने न्यायाधीश कृष्णलाल भट्टराई विशेष अतिथि तथा न्यायाधीश टंकप्रसाद गुरुङ, उच्च सरकारी वकिल कार्यालयकी सहन्यायाधिवक्ता शारदा राउत र इजलासका रजिष्ट्रार शोभाकर खरेल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा उच्च अदालत बार एसोसिएसन धनकुटा, धनकुटा जिल्ला अदालत बार एसोसिएसन, भोजपुर जिल्ला अदालत बार एसोसिएसन तथा संखुवासभा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सर्वोच्च अदालतका शाखा अधिकृत आर्या पौडेलले वरिष्ठ अधिवक्ता सिफारिस मापदण्ड, २०७६ सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो। सहभागी वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले वरिष्ठ अधिवक्ता उपाधिसम्बन्धी हालको मापदण्डका विषयमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।
सहभागीबाट प्राप्त सुझावलाई सर्वोच्च अदालतका शाखा अधिकृत आर्या पौडेलले लिपिबद्ध गर्नुभएको थियो। कार्यक्रमको समापन अध्यक्षता गर्नुभएका सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलले मन्तव्यसहित गर्नुभएको थियो।

