धनकुटामा आलु बोकेको ट्रक दुर्घटना
धनकुटा,२१ असोज । धनकुटाको धनकुटा नगरपालिका–१ सुकेपोखरी स्थित कोशी लोकमार्गमा आलु बोकेको ट्रक दुर्घटना भएको छ।
आज बिहान करिब ५ः४५ बजे इटहरीबाट खाँदबारीतर्फ जाँदै गरेको १० टन आलु लोड गरिएको प्रदेश १–०२–००१ ख ८८९४ नम्बरको ट्रक चालक निदाएका कारण अनियन्त्रित भई सडकको ब्यारेकेड भत्काएर सडकको छेउमा अड्किएको प्रहरीले जनाएको छ।
ट्रक चालक संखुवासभाको चैनपुर नगरपालिका–६ का २९ वर्षीय मिलनराज तामाङ रहेका छन्।
दुर्घटनापछि प्रहरी चौकी हिलेबाट प्रहरी हवल्दार चन्द्र राजवंशीको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ। ट्रक निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन।

