धनकुटामा चाडपर्व लक्षित सुरक्षा र यातायात व्यवस्थापनमा कडाइ गरिने

धनकुटा, २२ असोज । चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध कारोबार तथा सडक दुर्घटना नियन्त्रण गर्न धनकुटामा सुरक्षा र यातायात व्यवस्थापनलाई कडाइ गरिने भएको छ।

चाडपर्वमा सर्वसाधारणको आवतजावत बढ्ने भएकाले राजमार्ग तथा मुख्य सडकमा सुरक्षा गस्ती बढाउने र चोरी, लुटपाट तथा डकैतीजस्ता अवाञ्छित गतिविधि नियन्त्रणका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

चाडपर्व तथा धार्मिक कार्यक्रम सञ्चालन गर्दा एकअर्काको धर्म, संस्कृति, मूल्य र मान्यताको सम्मान गर्दै सामाजिक सद्भाव कायम गर्नसमेत आग्रह गरिएको छ। गैरकानुनी चिठ्ठा, जुवातास, अनलाइन सट्टेबाजी तथा विद्युतीय माध्यमबाट हुने ठगी नियन्त्रणका लागि निगरानी बढाइने भएको छ।

त्यस्तै, पटाका, आतसबाजीलगायत विस्फोटक तथा निषेधित वस्तुको अवैध आयात, ओसारपसार, बिक्रीवितरण र प्रयोगमा रोक लगाइनेछ। सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि प्रहरीले कडाइका साथ चेकजाँच गर्ने निर्णय गरिएको छ।

बैंक, वित्तीय संस्था तथा एटीएममा २४ घण्टा सुरक्षा व्यवस्था मिलाउनुका साथै एटीएममा पर्याप्त नगद उपलब्ध गराउन बैंकहरूसँग समन्वय गरिनेछ। डिजिटल वित्तीय अपराध नियन्त्रणका लागि पनि विशेष निगरानी बढाइने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन्।

चाडपर्वका बेला खाद्यान्न, पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिनेछ। बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित अनुगमन गर्नुका साथै खाद्यान्न, मिठाई, मासु तथा दुग्धजन्य पदार्थको गुणस्तर, उपभोग्य मिति र स्वच्छतासमेत जाँच गरिने भएको छ।

राजमार्गमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर, सरसफाइ र शौचालयको व्यवस्थापनमा ध्यान दिन व्यवसायीलाई निर्देशन दिइनेछ। यसका लागि अनुगमन टोली परिचालन गरी निरीक्षण गरिने निर्णय गरिएको छ।

यातायात व्यवस्थापनमा पनि कडाइ

चाडपर्वका समयमा यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा तीव्र गतिमा सवारी चलाउने कार्य नियन्त्रण गर्न राजमार्गमा कडाइका साथ चेकजाँच गरिने भएको छ।

लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने व्यवस्था अनिवार्य कार्यान्वयन गराउन यातायात व्यवसायीलाई निर्देशन दिइएको छ। बसपार्क तथा प्रमुख चोकमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले ‘यात्री सहायता कक्ष’ सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

यातायात व्यवसायीले यात्रुको प्रस्थान बिन्दु र गन्तव्यसम्बन्धी अद्यावधिक विवरण नजिकको प्रहरी युनिटमा उपलब्ध गराउनुपर्नेछ। जिल्लामा सञ्चालित टेम्पोको दर्ता, नियमन तथा भाडादर व्यवस्थित गर्न स्थानीय तहलाई अनुरोध गरिने भएको छ।

चालक तथा सहचालकलाई यात्रुमैत्री व्यवहारका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै चालक, सहचालक र यात्रुका लागि आचारसंहिता बनाई लागू गरिनेछ। सार्वजनिक यातायातका साधनमा तोकिएको भाडादर स्पष्ट देखिने गरी टाँस गर्नुपर्ने निर्णयसमेत गरिएको छ।

मनसुनका कारण क्षतिग्रस्त सडक तत्काल मर्मतसम्भार गरी यातायात आवागमन सहज बनाउन संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिनेछ।

चाडपर्वलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी, बजार अनुगमन निकाय तथा अन्य सरोकारवालाबीच समन्वय र निगरानी बढाइने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष रामबहादुर रायामाझीले जानकारी दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖