धनकुटामा शव बोकेको एम्बुलेन्स दुर्घटना, चालक सहित दुई जना घाइते
धनकुटा,२५ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्कुलडाँडामा शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गए राति करिब १२ः३० बजे विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै गरेको रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित बा.प्र.०१–०२–००२ झ ६१९० नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।
मध्यपहाडी लोकमार्गमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब २–३ मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
दुर्घटनामा घाइते हुनेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ का करिब २१ वर्षीय एम्बुलेन्स चालक शक्ति राई र वडा नं. ७ का करिब ४६ वर्षीय रामनन्द राई रहेका छन्।
प्रहरीका अनुसार चालक शक्तिको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था गम्भीर छ। त्यस्तै, रामनन्दको कम्मरमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ।
दुवै घाइतेलाई सुरुमा जिल्ला अस्पताल धनकुटा लगिएको थियो। त्यहाँ जाँचपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।


