धनकुटाका तीन क्यान्सर पीडितलाई श्रम संस्कृति पार्टीको ३० हजार सहयोग
धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटाका तीन जना क्यान्सर पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । पार्टीले बिरामीहरूलाई जनही १० हजार रुपैयाँका दरले कुल ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
सहयोग प्राप्त गर्नेमा साँगुरीगढी गाउँपालिका–८ की रेजिना राई, सहिदभूमि गाउँपालिका–५ की इन्द्रकुमारी राई र धनकुटा नगरपालिका–६ की गंगाकुमारी राई रहेका छन् ।
लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका बिरामीलाई आर्थिक राहत पुर्याउने उद्देश्यले पार्टीका श्रमदाताहरूबाट रकम संकलन गरी सहयोग गरिएको जिल्ला कोषाध्यक्ष सरकुमार राईले बताउनुभयो ।
क्यान्सरको उपचार खर्चिलो हुने भएकाले आर्थिक अभाव झेलिरहेका बिरामी तथा उनीहरूका परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको पार्टीले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला कोषाध्यक्ष सरकुमार राई, जिल्ला प्रवक्ता सन्तोष राई, जिल्ला सचिव इन्द्रकुमार लिम्बु, सहसचिव मनकला लिम्बु, नगर संयोजक हेमचन्द्र राई र धनकुटा–३ का अध्यक्ष पूर्णबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।
पार्टीले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनाअनुसार सहयोग गरेको जनाएको छ ।


